नेपाली कांग्रेसले समयमै महाधिवेशन नगरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई तथ्यको ख्याल गर्न भन्दै जवाफ फर्काउनुभएको छ ।
शनिबार वडा अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्दै ओलीले लोकतान्त्रिक भन्ने कांग्रेसले समयमै अधिवेशनसमेत गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो ।
आज प्रवक्ता शर्माले कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने ओलीको आलोचनालाई स्वीकार्य रहेको भन्दै तथ्य हेक्का राख्न पनि आग्रह गर्नुभएको हो ।
‘कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने कमरेड केपी शर्मा ओलीको आलोचना स्वीकार्य’ उहाँले भन्नुभएको छ, ‘आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद ।’
कांग्रेसले २०७२ फागुनमा १३ औं अधिवेशन गरेको थियो । १४ औं अधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेसले भन्दा एमालेले २० महिना पहिले यसअगाडि अधिवेशन गरेको थियो । एमालेले मंसिरमै दशाँ अधिवेशन गर्न लागेको छ।
‘कांग्रेसको ०७२ फागुनमा महाधिवेशन हुनुभन्दा २० महिना अघि एमालेको २०७१ असारमा महाधिवेशन भएको थियो,’ ओलीलाई जवाफ दिँदै शर्माले भन्नुभएको छ, ‘कमरेड, एक औंला यता बाँकी औंला त्यतै१’
संविधानअनुसार राजनीतिक दलले ५ वर्षभित्र महाधिवेशन गरिसक्नुपर्छ । शर्माले अधिवेशन पार्टीको आन्तरिक जीवनको विशेष अध्याय भएको पनि बताउनुभएको छ ।