काठमाडौं । सुदूरपश्चिमको पहाडी भूगोलभित्र अनेकौँ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा लुकेका छन्। तीमध्ये डोटीको बडिकेदार धाम धार्मिक आस्था, पुस्तौँदेखिको परम्परा र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित छ। भगवान् शिवप्रतिको अटुट श्रद्धा, पवित्र शिलाको पूजा, मनोकामना पूरा हुने जनविश्वास, धामी नाच र परम्परागत जातले बडिकेदारलाई सुदूरपश्चिमको विशिष्ट धार्मिक गन्तव्यका रूपमा स्थापित गरेका छन्।
धार्मिक आस्थाको यही केन्द्रलाई राष्ट्रिय तथा अन्तरदेशीय पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यसहित आगामी मंसिर ५ देखि ७ गतेसम्म बडिकेदार धाममा तीनदिने धार्मिक पर्यटन मेला आयोजना हुँदैछ। मेलालाई केवल धार्मिक जमघटमा सीमित नराखी सुदूरपश्चिमको मौलिक संस्कृति, धार्मिक पहिचान र पर्यटन सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा लिइएको छ।
बडिकेदारको धार्मिक महत्व यहाँ रहेको विशाल पवित्र शिलासँग जोडिएको छ। समुद्री सतहबाट करिब दुई हजार पाँच सय ९१ मिटरको उचाइमा अवस्थित यस धाममा परम्परागत मन्दिरभित्र स्थापित मूर्तिभन्दा प्राकृतिक रूपमा रहेको विशाल शिलालाई भगवान् शिवको शिवलिङ्गका रूपमा पूजा गर्ने विशिष्ट परम्परा छ। यही शिला यहाँको प्रमुख धार्मिक आकर्षण हो। भक्तजनले श्रद्धापूर्वक शिलाको दर्शन र पूजाआजा गर्दै आएका छन्।
बडिकेदारप्रतिको जनविश्वासको सबैभन्दा महत्वपूर्ण पक्ष मनोकामना पूरा हुने धार्मिक आस्था हो। भगवान् शिवको आराधना गरी यहाँ पूजाआजा गरे मनोकामना पूरा हुने, दुःख–कष्टबाट मुक्ति मिल्ने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास श्रद्धालुहरूमा रहँदै आएको छ। यही विश्वासले मानिसहरूलाई टाढाटाढाबाट कठिन पहाडी यात्रा पार गरेर धामसम्म पुर्याउने गरेको छ। कतिपय भक्तजन आफ्नो मनोकामना पूरा भएपछि पुनः धाम पुगेर भाकल पूरा गर्ने र भगवान्प्रति कृतज्ञता प्रकट गर्ने गर्छन्। यसरी बडिकेदार केवल दर्शन गर्ने धार्मिकस्थल नभई भक्तजनको विश्वास, आशा र आध्यात्मिक अनुभूतिसँग जोडिएको तीर्थस्थल बनेको छ।
बडिकेदारको अर्को विशिष्ट पहिचान यहाँ लाग्ने जात र त्यससँग जोडिएका धार्मिक परम्परा हुन्। मेलाका अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट श्रद्धालुहरू आ–आफ्ना देवताका देउरा र भाँकीसहित धाम पुग्ने गर्छन्। परम्परागत विधिअनुसार पूजा गर्ने, देवताको आह्वान गर्ने र धार्मिक अनुष्ठानमा सहभागी हुने दृश्यले धामको वातावरणलाई विशेष बनाउँछ। यहाँ देखिने धामी नाच धार्मिक आस्था र सांस्कृतिक पहिचानको जीवन्त अभिव्यक्ति हो।
धामी नाचलाई केवल मनोरञ्जन वा सांस्कृतिक प्रदर्शनका रूपमा बुझ्न मिल्दैन। यो स्थानीय समुदायको पुस्तौँदेखिको धार्मिक विश्वास र परम्परासँग जोडिएको अभ्यास हो। धामीमार्फत देवताको आह्वान गर्ने, परम्परागत विधि पालना गर्ने र देवताप्रति श्रद्धा व्यक्त गर्ने चलनले बडिकेदारको धार्मिक मौलिकता झल्काउँछ। देउरा, भाँकी, धामी नाच र जातमा सहभागी हुने श्रद्धालुहरूको सामूहिक उपस्थितिले यहाँको धार्मिक वातावरणलाई थप जीवन्त बनाउँछ।
यस्ता परम्पराले बडिकेदारलाई एउटा धार्मिक गन्तव्यभन्दा माथि उठाएर सुदूरपश्चिमको सभ्यता, संस्कृति र सामाजिक पहिचानको केन्द्र बनाएका छन्। आधुनिकतासँगै कतिपय मौलिक परम्परा ओझेलमा पर्दै गइरहेका बेला बडिकेदारमा हुने यस्ता धार्मिक गतिविधिले पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने काम गरिरहेका छन्।
बडिकेदारको आकर्षण धार्मिक आस्थामा मात्र सीमित छैन। उच्च पहाडी क्षेत्रमा अवस्थित यस धामको प्राकृतिक भूगोल, हरियाली वनजंगल, चिसो हावापानी र मनोरम दृश्यले प्रकृतिप्रेमीलाई समेत आकर्षित गर्न सक्छ। धार्मिक यात्रासँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय जीवनशैलीको अनुभव लिन चाहने पर्यटकका लागि यो क्षेत्र सम्भावनायुक्त गन्तव्य हो। धार्मिक पर्यटन र प्रकृति पर्यटनलाई एकसाथ जोड्न सकिए बडिकेदार सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ।

यसपटक आयोजना हुन लागेको मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक आउने अपेक्षा गरिएको छ। आयोजकले भारतको उत्तर प्रदेशका विभिन्न क्षेत्रबाट समेत श्रद्धालु भित्र्याउने लक्ष्य राखेको छ। त्यसका लागि भारततर्फ पनि प्रचारप्रसार र समन्वयका गतिविधि अघि बढाइएको छ। बडिकेदारसँग जोडिएको धार्मिक आस्था र सीमापारिको सांस्कृतिक सम्बन्धलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रको पहिचान अन्तरदेशीयस्तरमा विस्तार हुन सक्छ।
भारतबाट धार्मिक पर्यटकको आगमन बढेमा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ। होटल, यातायात, स्थानीय पसल, कृषि उत्पादन र घरेलु उद्यमले नयाँ बजार पाउन सक्छन्। स्थानीय युवाले पर्यटन क्षेत्रमा रोजगारी तथा व्यवसायका अवसर प्राप्त गर्न सक्छन्। तर त्यसका लागि मेला लाग्ने तीन दिन मात्र आर्थिक गतिविधि बढाउनेभन्दा वर्षभरि पर्यटक आउने वातावरण निर्माण गर्नु आवश्यक छ।
बडिकेदार पुग्ने यात्रालाई सहज बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ। धनगढीबाट भीमदत्त राजमार्ग हुँदै सहजपुर–बिपीनगर–अत्तरकाँडा भएर करिब ११६ किलोमिटर सडक यात्रा गरेपछि धामतर्फको पैदल यात्रा सुरु हुन्छ। अत्तरकाँडाबाट करिब दुई घण्टाको उकालो पैदल यात्रा गरेर धाम पुग्न सकिन्छ। पैदल मार्गमा सिँढी निर्माण गरिएकाले यात्रामा केही सहजता थपिएको छ। तथापि ज्येष्ठ नागरिक, बालबालिका र शारीरिक रूपमा अशक्त व्यक्तिका लागि थप सुविधा आवश्यक देखिन्छ।
धामसम्म पुग्ने सडक र पदमार्गको स्तरोन्नति, खानेपानी, शौचालय, आवास, सञ्चार, स्वास्थ्य सेवा र सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने चुनौती पनि उत्तिकै छ। धार्मिक मेलामा ठूलो संख्यामा भक्तजन पुग्ने भएकाले मेला सुरु हुनुअघि नै सम्बन्धित निकायले आवश्यक व्यवस्थापन गर्नुपर्छ। त्यस्तै, फोहोर व्यवस्थापन र प्राकृतिक वातावरणको संरक्षणलाई प्राथमिकता दिनुपर्छ। पर्यटन प्रवर्द्धनका नाममा यहाँको प्राकृतिक सम्पदा र मौलिकता नष्ट हुनु हुँदैन।
सुदूरपश्चिम प्रदेश सरकारले पनि बडिकेदारलाई महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा विकास गर्ने योजना अघि सारेको छ। मुख्यमन्त्री खगराज भट्टले धामको धार्मिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन गुरुयोजना निर्माणको काम भइरहेको बताएका छन्। गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके धामको पूर्वाधार विकास, पदमार्ग व्यवस्थापन, धार्मिक संरचना निर्माण र भक्तजनका लागि आवश्यक सुविधाको विस्तार गर्न सकिनेछ।
तर बडिकेदारको विकास सरकारी योजनामा मात्र सीमित हुनु हुँदैन। प्रदेश सरकार, स्थानीय तह, पर्यटन विकास समिति, स्थानीय समुदाय र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ। स्थानीय उत्पादन, परम्परागत खानपान, मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रका बासिन्दाले प्रत्यक्ष आर्थिक लाभ लिन सक्नेछन्। स्थानीय युवालाई पर्यटन व्यवसायमा प्रोत्साहन गर्नु र गाउँमै रोजगारीका अवसर सिर्जना गर्नु पनि विकासको महत्वपूर्ण आधार बन्न सक्छ।
बडिकेदारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन आधुनिक प्रचारप्रसारको पनि खाँचो छ। यहाँको पवित्र शिला, मनोकामना पूरा हुने जनविश्वास, धामी नाच, जात, देउरा–भाँकी र प्राकृतिक सौन्दर्यलाई समेटेर प्रभावकारी प्रचार गर्न सकिन्छ। भारतका धार्मिक तथा पर्यटन संस्थासँग समन्वय गरेर धार्मिक भ्रमणका कार्यक्रम सञ्चालन गर्न सकिन्छ। सुदूरपश्चिमका अन्य धार्मिक तथा पर्यटकीयस्थलसँग बडिकेदारलाई जोडेर पर्यटन मार्ग विकास गर्न सके पर्यटकको बसाइ अवधि र स्थानीय आर्थिक गतिविधि दुवै बढाउन सकिन्छ।
आगामी मंसिर ५ देखि ७ गतेसम्म आयोजना हुने तीनदिने धार्मिक पर्यटन मेला बडिकेदारको यही सम्भावना उजागर गर्ने महत्वपूर्ण अवसर हो। मेलामा सहभागी हुने भक्तजनका लागि यो भगवान् शिवको दर्शन, पूजाआजा र मनोकामना पूरा हुने विश्वाससँग जोडिएको धार्मिक अवसर हुनेछ। अर्कोतर्फ, पर्यटकका लागि सुदूरपश्चिमको मौलिक धार्मिक परम्परा, धामी नाच, जात र प्राकृतिक सौन्दर्य नजिकबाट अनुभव गर्ने अवसर पनि बन्नेछ।
बडिकेदार केवल एउटा धार्मिकस्थल होइन, यो सुदूरपश्चिमको आस्था, विश्वास, संस्कृति र पहिचानको प्रतीक हो। यहाँको पवित्र शिलामा भगवान् शिवप्रतिको श्रद्धा जोडिएको छ, धामी नाच र जातमा पुर्खाको परम्परा जीवित छ भने प्राकृतिक भूगोलमा पर्यटनको ठूलो सम्भावना लुकेको छ। यी सबै पक्षलाई योजनाबद्ध रूपमा जोड्न सकिए बडिकेदार नेपालको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ।
मेला सकिएपछि पनि बडिकेदारको चर्चा, संरक्षण र विकासको अभियान निरन्तर चल्नुपर्छ। किनकि धार्मिकस्थलको वास्तविक महिमा त्यहाँ पुग्ने भक्तजनको संख्याले मात्र होइन, पुस्तौँसम्म जोगिइरहने आस्था, संस्कृति र परम्पराले निर्धारण गर्छ। बडिकेदारको धार्मिक गौरवलाई राष्ट्रिय पहिचान र अन्तरदेशीय पर्यटनसँग जोड्ने जिम्मेवारी अब सबै सरोकारवालाको साझा दायित्व बनेको छ।