काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर विवाद समाधान कार्यदलबाट राजीनामा दिएको आरोप लगाउनुभएको छ ।
१० बुँदे सहमति कार्यान्वयनमा ध्यान नदिइएको भन्दै उपाध्यक्ष रावलले कार्यदल संयोजकबाट राजीनामा घोषणा गर्नुभएको छ । त्यसप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले संयोजन गर्न नसकेर राजीनामा दिएको विषय ठूलो नहुने बताउनुभएको हो ।
आज थापाथलीस्थित पार्टी कार्यालयमा संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले हुने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेमा अब १० भाइ भन्ने कुनै समूह पनि नरहने बताउनुभयो ।
१० बुँदे कार्र्यान्वयनमा ओली प्रतिवद्ध नदेखिएको भन्दै त्यसलाई कार्यन्वयन गर्न सहजिकरणका लागि बनाइएको कार्यदलबाट रावलले हिजो राजीनामा दिनुभएको थियो ।
सहमति कार्यान्वयनमा ओली उदासिन भएपछि एमालेमा फेरि रडाको मच्चिन थालेको छ ।
उपाध्यक्ष रावलले अहंकार र दम्भकै कारण सातवटै प्रदेशबाट सत्ता गुम्न लाग्दा समेत नेतृत्वमा चेत नपलाएको टिप्पणी गर्नुभयो । तर आफूले तत्काल पार्टी परित्याग भने नगर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई आफू अनुकुल व्याख्या गर्न थालेपछि पार्टी विभाजनमा साथ नदिएर एमालेमै रहेका नेताहरु संकटमा परेका छन् ।
१० बुँदे सहमतिले पार्टी एकताको आधार तयार पारेको जिकिर गरेर एमालेमै रहेका नेताहरुको अहिले हरिबिजोग हुन थालेको विश्लेषण भइरहेको छ ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताउनुभयो ।
आदेशको पालना नगर्नेलाइ ट्याउँ–ट्याउँ नगर्न भनेर धम्क्याउन थालेको उहाँको टिप्पणी छ ।
१० बुँदेलाई लिएर एमालेमा फेरि कलह बढिरहेका बेला अध्यक्ष ओली भने पार्टी एकढिक्का रहेको रटान लगाइरहनुभएको छ ।
आज वडा अधिवेशनको उद्घाट समरोहमा पनि ओलीले एमालेमा उन्नतस्तरको एकता रहेको जिकिर गर्नुभएको थियो ।