काठमाडौं । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपतिबीच बधाई सन्देश आदानप्रदान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।
यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताउनुभएको छ । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
सो क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताउनुभएको छ ।