सप्तरी । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।
केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताउनुभयो । एक सातादेखि अस्पतालमा ज्वरो,रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उहाँको भनाइ छ ।
मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताउनुभयो । असोज महिनामा पनि दिउँसो अत्यधिक गर्मी भएसँगै अस्पतालमा दैनिक ६० देखि ७० जनासम्म बिभिन्न रोगका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार आकस्मिक कक्षमा करिब २५÷३० शय्या रहेको अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको छ ।
श्ययाको अभावमा केही बिरामीलाई भुईँमा राखेर उपचार भइरहेको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पताल गजेन्द्रनारायण सिँह,अन्य स्वास्थ्य केन्द्र र सवास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य संस्थाका स्वासथ्यकर्मीले बताएका छन् ।
अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन् । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा आइरहेका छन् ।