काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरू छुटेको बताउनु भएको छ
शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ’ नामक पुस्तक विमोचन गर्दै देउवाले यस्तो बताउनु भएको हो।
संयुक्त सरकार भएकाले सबैलाई समेट्न नसकिएको स्पष्ट पार्दै उहाँले भोलिका दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पार्टीलाई योगदान दिएका साथीहरू छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई आगामी दिनमा उचित भूमिका दिने आश्वासनसमेत दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले सरकार गठन भएको ८८औँ दिनमा शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो।
तर, महत्वपूर्ण नेताहरूलाई समेट्न नसकिएको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘भर्खरै सरकार बनेको छ। सरकारमा धेरै र महत्वपूर्ण साथीहरू छुटेका छन्। पार्टीलाई योगदान दिएका साथीहरू छुटेका छन् । संयुक्त सरकार भएकाले सबैलाई समेट्न सकिएन । भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु,’ उहाँले भन्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक बिपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने धारणा राख्नुभयो।