काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीयले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा जनप्रतिनिधिले स्थापनाको तीन दशकसम्म कोषले स्थानीयलाई दुःख दिनेभन्दा केही काम नगरेको भन्दै कोषको खारेजीको माग गरे ।
कोषले स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी नगराई गुरुयोजना ल्याएको र त्यसमा स्थानीय प्रतिनिधि नै नरहने कल्पना गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
नयाँ गुरुयोजनाले सिफलदेखि धोबीखोलासम्मको बस्ती हटाउने गरी गुरुयोजना प्रस्ताव गरेपछि स्थानीय प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरू समेत विरोधमा उत्रिएका हुन् ।