काठमाडौँ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।
बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार विनियोजन विधेयक अब ऐन बनेको छ । यो आजै राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि बजेट कार्यान्वयन शुरु हुनेछ । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।
सरकारले नयाँ बजेटमा आम्दानीको स्रोतमा समेत परिवर्तन गरेको छ । आन्तरिक तथा बाह्य ऋण केही घटेको छ भने आन्तरिक राजस्व बढी उठाउने लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयका अनसार यो वर्ष १० खर्ब ५० अर्ब ८२ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।
वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ लिने लक्ष्य राखिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब रुपैयाँ संकलनको लक्ष्य सरकारले राखेको छ ।