काठमाडौँ । बजेटको विनियोजन विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ । प्रतिनिधि सभाबाट यसअघि पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको हो । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) गत सोमबार प्रतिनिधि सभाबाट पारित भएको थियो ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले पेस गरेको प्रतिस्थापन विधेयकअन्तर्गतको विनियोजन विधेयक पारित नहुँदा देशमा पहिलो पटक बजेट होलिडे भएको थियो । विनियोजन विधेयक पारित नहुदाँ बजेट होलिडे भएपछि सरकारले यसलाई एमालेको विरोधकै बिचमा अघि वढाएको थियो ।
साउन ३ गते प्रतिनिधि सभा बैठकमा पेस भएको अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस भएर पारित नहुँदा बजेटको ७० वर्षे इतिहासमा पहिलो पटक सरकार खर्च गर्न नपाउने भएको थियो । राजश्व संकलन भने २०१२ सालमा जारी भएको एक ऐनमार्फत् सरकारले गरेको थियो ।
उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि तत्काल लागू हुने छ । त्यसपछि देशमा जारी बजेट होलिडे पनि अत्य हुने छ । प्रतिनिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित गराएर राष्ट्रपतिले प्रमाणीकरण नगरेसम्म सरकारले खर्च गर्न रोक लागेको थियो ।