काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेको अवरोधका कारण यसअघि नियमित सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ । आज ११ बजेका लागि बोलाइएको बैठकमा बजेटप्रतिस्थापन विधेयकमाथि छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच सरकारले आजको बैठकमा विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने र आजै पारित गर्ने सरकारी तयारी छ । एमालेको नाराबाजीकै बीच भदौ २७ गतेको बैठकमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो । बजेट पारित हुन नसक्दा भदौ ३० गतेदेखि मुलुकमा ‘बजेट होलिडे’ चलिरहेको छ ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ । मालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन भनी गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।