धनगढी – नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको पनि दाबी गर्नुभयो ।
‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्नुभएको छ,’ प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले भन्नुभयो, ‘सुदूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार हामी अघि बढेका छौँ ।’
नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दाबी गर्नुभयो ।
‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नुपर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ(रावल) र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन, ’ उहाँले भन्नुभयो, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुझेरसँगै सहकार्य गरेर जाने हो ।’
एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उहाँले विवाद नभएको जिकिर गर्नुभएको हो ।
फरक प्रसँगमा बोल्दै भट्टले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको उल्लेख गर्नुभयो ।