काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको छ ।
अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताउनुभयो।
आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाउनु भएको छ ।
शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताउनुभयो। उहाँले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताउनु भएको छ ।
अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उहाँले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताउनु भएको छ ।
विपक्षीको सभालगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत गरिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
अर्थमन्त्री शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको थियो।