काठमाडौं । काठमाडौंमा लामो समयदेखिको निषेधाज्ञा अहिले अन्त्य भएपनि हेलचक्रयाइ भएमा फेरि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आउन सक्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।
स्वास्थ्य सतर्कता र मापदण्ड पालना गरेर काम गर्नेगरी मात्रै अहिलेलाई निषेधाज्ञा हटाइएको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्य क्षेत्र अनुसारका स्वास्थ्य मापदण्ड तयार पार्न आज सरोकारवाला तथा व्यवसायीहरुसँग छलफल गर्न लागिएको पनि उहाँले बताउनुभयो । सरोकारवाला सवैले बनाएको मापदण्ड पालना भएको वा नभएको भन्ने बारेमा अनुगमन गर्नका लागि सरोकारवालासहितको अनुगमन समिति बनाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “तालाचावी बुझाउछु भन्ने व्यवसायीहरुले अव जिम्मेबार भएर आफ्नो काम गर्नुपर्छ, नत्र फेरि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आउन सक्छ ।”
१८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई खोप नदिइएकाले विद्यालय सञ्चालन गर्ने बारेमा निर्णय गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले प्रष्ट पार्नुभयो ।
उहाँले इन्टरनेट नभएको, विद्यार्थीको संख्या थोरै भएको, सामाजिक दुरी कायम गर्न सकिने, भिडभाड नहुने ठाउँमा भने स्थानीय सरकारले निर्णय गरेर विद्यालय संचालन गर्न सक्ने जानकारी दिनुभयो ।
प्रजिअ पराजुलीले माक्स लगाउनु पर्ने, सामाजिक दुरी काम गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्नेलगायतका स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा पनि सञ्चालन हुने बताउनुभयो ।