Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डमा साहस र हिम्मत घट्दै गएको भन्दै पूर्व माओवादी नेताहरु चिन्तित, माधव नेपालले पनि साथ छाड्ने ठोकुवा

प्रचण्डमा साहस र हिम्मत घट्दै गएको भन्दै पूर्व माओवादी नेताहरु चिन्तित, माधव नेपालले पनि साथ छाड्ने ठोकुवा

  • बुधवार, श्रावण १४ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्डमा साहस र हिम्मत घट्दै गएको भन्दै पूर्व माओवादी नेताहरु चिन्तित, माधव नेपालले पनि साथ छाड्ने ठोकुवा

    काठमाडौँ – १० वर्षसम्म चलेको सशस्त्र युद्धको नेतृत्वपछि शान्ति प्रक्रिया हुँदै नेपाली राजनीतिको केन्द्रमा छाएका नेता पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक हैसियत यतिबेला खुम्चन थालेको छ । दुई पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा चाहेको भूमिका प्राप्त गर्न नसकेपछि प्रचण्डको राजनीतिक हैसियत गुमेको हो ।

    राजनीतिक विश्लेषकहरुले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणासँगै प्रचण्डको राजनीतिक उचाई भुईमा झरिसकेको बताउँदै आएका थिए । अब त प्रचण्डको एकदमै नजिक भएर काम गर्दै आएका नेताहरु पनि प्रचण्डमा निर्णय लिने क्षमता र शाहस हराउँदै गएको सार्वजनिक टिप्पणी गर्न थालेका छन् ।

    प्रचण्डको राजनीतिक यात्राका हरेक घुम्तिमा साथ दिँदै आउनुभएका नेता हरिबोल गजुरेलले वर्तमान अवस्थामा प्रचण्डको निर्णय लिने क्षमतामा ह्रास आएका कारण मुलुकले नै दुःख पाइरहेको बताउनुभयो । १० वर्षे जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणमा अहम भूमिका खेलेको र दुई ठूला बाम शक्तिलाई एकीकरण गरेको पुरुषमा आज निर्णय लिने हिम्मत र शासह घट्दै जानु निकै दुःखको कुरा रहेको उहाँले बताउनुभयो।

    राजनीतिक विश्लेषकहरुले भने एमाले र माओवादी पार्टीको एकतासँगै प्रचण्डको अस्तित्व सकिएको बताउँदै आएका थिए । माओवादी केन्द्र एमालेमा विलय भएपछि प्रचण्ड मात्रै होइन माओवादी नामक शक्तिको नै अस्तित्व समाप्त भइसकेको विश्लेषक पुरन्जन आचार्यले बताउनुभयो । हिजोको एमालेले पनि साथ नदिने र पूर्व माओवादी खेमाकै नेताहरुले पनि आफूलाई एमालेकरण गरिसकेकाले प्रचण्डले अब नेकपाभित्र आफ्नो नेतृत्वको भूमिका खोज्नुमा नै संकट रहेको उहाँको भनाई छ ।

    हुन त अहिले पूर्व एमालेको माधव नेपाल समूहको साथ प्रचण्डलाई छ । तर अन्तिम अवस्थासम्म यो गठजोड कायम नरहने विश्लेषक आचार्यको तर्क छ । उहाँले अन्तिम अवस्थामा माधवकुमार नेपालको समूहले पनि प्रचण्डको साथ छाड्ने ठोकुवा गर्नुभयो । पार्टीभित्र शंकर पोखरेल र योगेश भट्टराई लगायतका नेताहरुले नै प्रचण्डलाई खुलेयाम चुनौती दिइरहेको बताउँदै उहाँले प्रचण्डलाई ठेगान लगाउन केपी ओलीको आवश्यकता नै नपर्ने बताउनुभयो । केपी ओलीले दल फुटाउने अध्यादेश ल्याएका बेला आफूलाई पार्टीमा स्थापित गर्न अवसर पनि प्रचण्डले खेर फालेको आचार्यको भनाई छ ।

    तत्कालीन एमालेका नेताहरुले प्रचण्डलाई रोक्न खोजिरहेका बेला पूर्व माओवादीका नेताहरुले समेत प्रचण्डको साथ छाडेका छन् । नेताहरु रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, लेखराज भट्ट र हरिबोल गजुरेल लगायतले प्रचण्डको साथ छाडेर केपीओलीसँग नजिकिएको चर्चा हुने गर्छ । नेता हरिबोल गजुरेलले प्रचण्डले आफूले दिएको सुझाव मान्नै छाडेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूले दिएको सुझाव मानेको भए प्रचण्डको हैसियत अहिले निकै माथि रहने कुरामा जिकिर गर्नुभयो ।

    नेकपाभित्रको विवाद समाधान हुन नसकेपछि पार्टी फुट्ने अनुमान धेरैले गरिरहेका छन् । कतिपयले त पार्टी फुटिसकेको र आधिकारिक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको बताउँदै आएका छन् । तर पार्टी फुटिसकेको कुरालाई दुवै समूहले खारेज गरेका छन् । महासचिव विष्णु पौडेलले डिलडिलमा पुगे पनि नेकपा कुुनै हालतमा नफुट्ने बताउनुभयो । यता प्रचण्ड माधव नेपाल समूहका नेता भीम रावलले पनि पार्टी फुटको दिसामा गएको हल्ला निराधार रहेको बताउनुभयो ।

    यस्तै स्थायी कमिटि र सचिवालयले विवाद समाधान गर्न नसकेपछि नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटि बैठक बोलाउन माग गरेका छन् । आज १५२ जना सदस्यले केन्द्रीय कमिटिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएको नेता हिमाल शर्माले जानकारी दिनुभयो।

    नेकपामा एक चौथाई केन्द्रीय सदस्यले माग गरेमा केन्द्रीय समितिको बैठक १५ दिनभित्र बोलाउनुपर्ने विधानमा व्यवस्था छ ।


    बुधवार, श्रावण १४ २०७७०७:५०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij