Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गण्डकीका मन्त्रीहरुको सम्पत्ति : किलो–किलो सुनचाँदी, अथाह घरजग्गा र बैंकमा बचत

गण्डकीका मन्त्रीहरुको सम्पत्ति : किलो–किलो सुनचाँदी, अथाह घरजग्गा र बैंकमा बचत

  • बुधवार, भाद्र ९ २०७८

  • 1.1K
    SHARES

  • गण्डकीका मन्त्रीहरुको सम्पत्ति : किलो–किलो सुनचाँदी, अथाह घरजग्गा र बैंकमा बचत

    पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकुमार थापा देखिनुभएको छ ।

    शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    आन्तरिक मामिला तथा प्रदेश सभामन्त्री थापाको आफ्नो र श्रीमतीको नाममा विभिन्न मल तथा होटल रहेका ६ वटा घर छन् । त्यस्तै पोखराका विभिन्न ठाउँमा उहाँ र परिवारको सदस्यको नाममा जग्गा छ । त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा पनि उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

    डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको छ । थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने दुईवटा गाडी छ भने रोलेक्स र कार्टियर घडी ३ थान छ । थापाले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

    शिक्षा मन्त्री मेखलाल श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौं नागार्जुनमा घर छ । श्रेष्ठसँग १ किलो १९ तोला सुन छ । उहाँले यसलाई पैतृक तथा पेवा सम्पत्ति भन्नुभएको छ । ७ किलो २ तोला चाँदी, एउटा हिराको औंठी र नगद मौज्दात १५ लाख रुपैयाँ रहेको श्रेष्ठले सार्वजनिक गर्नुभएको छ ।

    उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको बागलुङमा श्रीमतीको नाममा ४८ लाखको घर छ । रुपन्देहीमा ५७ लाख, चितवनमा ६३ लाखको जग्गा रहेको र बागलुङमा पुख्र्यौली जग्गा रहेको सम्पति विवरणमा उल्लेख गर्नुभएको छ । त्यस्तै दाइजो र पुर्खौली सम्पत्तिबाट प्राप्त गरी मणिभद्रसँग २५ तोला सुन र १ किलो चाँदी सम्पत्ति छ ।

    भैतिक पूर्वाधार मन्त्री कुमार खड्काले स्वआर्जनका रुपमा पोखरा–१६ मा घर देखाउनुभएको छ । खड्काको विभिन्न बैंक तथा वित्तीय संस्थामा १ करोड ३३ हजार रुपैयाँ बचत छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १५ लाख लगानी बनेको साढे दुई तले पक्की घर सम्पतिका रुपमा सार्वजनिक गर्नुभएको छ ।

    तनहुँको ३ ठाउँमा जग्गा देखाउनुभएका मुख्यमन्त्री पोखरेलले काठमाडौँमा १५ लाख ऋण लिएर जग्गा किनेको उल्लेख गर्नुभएको छ । पोखरेलसँग ५ तोला सुन छ । एभरेस्ट बैंकमा तलबको रकम ५ लाख रुपैयाँ वचत भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

     


    बुधवार, भाद्र ९ २०७८०२:५६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij