काठमाडौं – प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा अहिले आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले अहिलेकेहिबेरमा पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।
मन्त्रिपरिषद् विस्तारबारे शनिबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । हाल
मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्री सहभागी छन् । जसमा एकजना राज्यमन्त्री छन् ।
यता, सत्ता साझेदारका दुई हिस्सा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागि नहुने भएका छन् ।