बिमल प्रसाद पोख्रेल, प्युठान । रोजगारीको क्रममा भारत गएका प्युठानी मजदुरहरु कोभिड १९ को दोस्रो चरणको महामारीका कारण भारतै बेरोजगार हुन थालेपछि धमाधम स्वदेश फर्किन थालेका छन् ।

उनीहरु मध्ये धेरै भारतबाट जनतन नेपालको कृष्णनगर सिमा नाकामा आएपनि त्यसपछि घर जान समस्यामा पर्ने गरेका छन् । त्यही समस्यालाई बुझेर प्युठानका युवा समाजसेवी प्रमोद पोख्रेलले उनीहरुलाई उद्धार गर्ने गरेका छन् ।

उनले मानव सेवा नै सबैभन्दा ठुलो धर्म भएको ठानेर दुई वटा गाडि लिएर कृष्णनगर आफै पुग्ने र उनीहरुलाई घरघर लैदिने गरेका छन् । निजि सवारी साधनबाट जिल्ला भित्रिएका मजदुरहरुलाई गाउँ गाउँमा पु¥याउदा केही हप्ता अगाडि उनी आफै पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।
कोरोनासँगको एक महिना लामो संघर्षपछि उनी अहिले फेरि अलपत्र मजदुरलाई निशुल्क उद्वारमा लागेका हुन । गत शनिबार त उनले भारतको विभिन्न स्थानबाट आएर कपिलबस्तुको कृष्णनगर सिमानामा अलपत्र परेका दर्जनौ मजदुरहरुलाई लिन प्युठानबाट एउटा बस र आफ्नो निजि साधन लिएर गएका थिए ।
दुई/तीन दिनदेखि सिमा नाकामा अल्पत्र परेका प्युठानी मजदुरहरुलाई लिन पोखरेल पुग्दा उनीहरु हर्षित भएका थिए । सबैसंग सामाजिक दुरी कायम राखी कोरोना महामारीको बारेमा सचेत र सजग रहन आग्रह गर्दै बसमा चढ्न लगाएका थिए ।
बस चढेका झिमरुक गाउँपालिका ३, बेओरेका बसन्त पोखरेलले भन्नुभयो “हामीलाइ लिन गाडि लिएर आएको देख्दा भगवान आएजस्तो भयो । गत बर्ष सरकारले टिपरमा लगेको थियो, युवा समाजसेवी प्रमोदले बसमा आनन्दसँग हामीलाइ गाउँ पु¥याउनु भयो । हामी भारतबाट आउनेहरुका लागि उहाँ भगवान जस्तै बन्नु भएको छ ।”
जिल्ला स्थित स्थानीय सरकारले गत बर्ष कोरोनाका कारण भारतबाट नेपाल भित्रिएका मजदुरहरुलाई टिप्परमा बोकेको तस्बिर सामाजिक संजालमा निकै भाईरल र आलोचित भएको थियो ।
जिल्लाका सरोकारबालाहरु यो बर्ष कोरोनाको महामारी चलिरहेका बेला पनि मानव उद्वारमा खटिएको देखिएको छैन । पोख्रेलले गत बर्ष काठमाडौंमा अलपत्र परेका मजदुर तथा विद्यार्थीहरुको उद्वार गरेका थिए ।
यसरी महामारीका बेला सामाजिक दुरी कायम राख्दै माक्स सेनिटाईजर प्रयोग गरी मानव सेवामा लागेका पोख्रेललाई देश बिदेशमा रहेका लाखौ नेपालीले सामाजिक संजालमा धन्यवाद ब्यक्त गर्ने गरेका छन ।
युवा समाजसेवी पोख्रेल नेपाली काङ्ग्रेस प्युठानका महाधिवेशन प्रतिनिधि हुन भने उनी गएको स्थानीय तहको निर्वाचनमा प्युठानको झिमरुक गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका थिए ।
चुनाब जितेकाहरु गुमनाम हँुदा चुनाबबाट पराजित भएका पोख्रेल निरन्तर सामाजिक कार्यमा लागेकाले सबैका धन्यवादका उदाहरणीय पात्र बनेका छन ।