Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेको प्रधानसेनापतिको अभिव्यक्तिप्रति सुरक्षाविज्ञले के भने?

राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेको प्रधानसेनापतिको अभिव्यक्तिप्रति सुरक्षाविज्ञले के भने?

  • आइतवार, जेठ २३ २०७८

  • 1.0K
    SHARES

  • राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेको प्रधानसेनापतिको अभिव्यक्तिप्रति सुरक्षाविज्ञले के भने?

    काठमाडौँ – नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई नजिकबाट नियालिरहेको बताएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा नेपाली सेना सजग र सचेत रहेको बताउनुभयो ।

    कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क रहेको बताउनुभएको हो ।

    पछिल्लो राजनीतिक घटनाक्रमलाई सेनाले नजिकबाट नियालेको पनि उहाँले बताउनुभयो । मुलुकको रक्षाका लागि संवैधानिक दायित्व भित्रै रहेर सेनाले काम गर्ने पनि प्रधानसेनापति थापाले बताउनुभयो ।

    संसद विघटनपछि मुलुकमा अहिले सरकार कामचलाउ हैसियतमा छ । विपक्षी दलहरु मोर्चा कसेर संसद विघटनविरुद्ध अदालत पुगेका छन् । सत्ताधारी दल पनि फुटको संघारमा छ । पदभार ग्रहणलगत्तै उपप्रधानमन्त्री राजेन्द्र महताले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि मुक्ति आन्दोलनको तयारी गर्न आफूहरु सरकारमा सहभागी भएको अभिव्यक्ति दिनुभएको छ ।

    यस्तो अवस्थामा सेना प्रमुखबाट राजनीतिक घटनाक्रम नियालिरहेको भन्दै वक्तव्य आउनु अस्वभाविक नरहेको सुरक्षाविदहरुले बताएका छन् ।

    सुरक्षाविज्ञ एवं पूर्व प्रहरी महानिरीक्षक धु्रव बहादुर प्रधानले राजनीतिले गम्भीर मोड लिइरहेका बेला सेनाले चासो व्यक्त गर्नु स्वभाविक रहेको बताउनुभयो ।

    यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कम्युनिष्ट सरकारको दम्भका कारण नेपालको राजनीतिले विदेशीका सामू आत्मसमर्पण गरिरहेका बेला सेनाले चासो देखाएको टिप्पणी गर्नुभयो ।

    सरकार अत्यन्त कमजोर बनेका बेला सेनाले सतकर्ता देखाउनु स्वभाविक रहेको पनि उहाँले बताउनुभयो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम सेनाले नियालिरहेको भन्दै प्रधानसेनापतिबाट वक्तव्य आउनुलाई अस्वभाविक भन्न नसकिने उहाँले बताउनुभयो ।

    मुलुकको राजनीतिले सुरक्षा खतरा बढाएको भए पनि सेनाले संवैधानिक दायित्वभित्रै रहेर काम गर्ने प्रधानसेनापतिको भनाइ छ । उहाँले अहिलेको राजनीतिक संकट राजनीतिक रुपमै समाधान हुने विश्वास पनि सेनाले लिएको बताउनुभयो ।

    नेपाली सेनालाई कमजोर नसम्झन र विगतमा नेपाली सेनाको गौरवपूर्ण इतिहास सम्झन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।


    आइतवार, जेठ २३ २०७८०७:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij