काठमाडौँ । नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने मनोकांक्षाबाट ग्रसित रहेको टिप्पणी गरेको छ । सरकारले जेठ १५ गते ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले कोरोना महामारीबाट सबै क्षेत्र आक्रान्त भएको बेला कुनै आशा जगाउन नसकेको ठहर समेत गरेको छ ।
‘यस्तो विपद परिस्थितिमा सरकारले कोभिड रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो कार्ययोजना ल्याउन सकेको छैन’, काँग्रेसले भनेको छ, ‘समग्रमा, कोरोना कहरबाट प्रताडित आफन्तजन गुमाएका, आफै संक्रमणमा परेका, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका तथा अर्थतन्त्रको गतिहिनता र राजनीतिक दाउपेच, खिचातानीबाट आजित र निरास नागरिक बिच यो बजेटले कुनै पनि आशा जागृत गर्न सकेको छैन ।’
यस्तै आगामी आर्थिक वर्षमा प्रक्षेपित चालु खर्च घट्ने आधार नदेखिएको भन्दै काँग्रेसले परिणामस्वरुप, पुँजीगत निर्माणका लागि आवश्यक रकम जोहो गर्न सम्भव नहुने उल्लेख गरेको छ ।
भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन सम्भव नभएको र नागरिकको थाप्लो माथिको ऋणभार अझ बढ्ने निश्चित रहेको काँग्रेसले जिकिर गरेको छ । यस्तै महंगी र बेरोजगारी बढ्ने निश्चित रहेको पनि काँग्रेसले उल्लेख गरेको छ ।