काठमाडौं । नेपालमा कोरोना भाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे चिनियाँ कम्युनिष्ट पाटी र नेपालका राजनीतिक दलका शीर्ष नेताहरुबीच आज जुममार्फत भर्चुअल छलफल भएको छ । बैठकमा संसदका पदाधिकारीहरु पनि सहभागी थिए ।
अनलाइन छलफलको अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी (सिसिसी)का अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोऊले गर्नुभएको थियो । त्यस्तै, सिसिसीका मन्त्री सोङ ताओले कि–नोट स्पिच प्रस्तुत गर्नुभएको थियो ।
उक्त भर्चुअल सत्रबाटै चीनले महामारीविरुद्ध लड्न नेपाली राजनीतिक दलहरुलाई उनीहरुको हैसियत र आकारअनुसार हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा गरेको छ ।
उक्त समारोहलाई उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्का, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपतिशमशेर जबरा, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सम्बोधन गर्नुभएको थियो ।
सबै नेपाली नेताले खोप, अक्सिजन, भेन्टिलेटर, कन्सनट्रटेर, जेनेरेटरलगायतका जरुरी स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिनुभएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका सदस्यसमेत रहेका पोखरेलले खोप आपूर्तिमा समन्वय गर्न चीन सरकारलाई आग्रह गर्नुभयो ।
‘एकता, साझेदारी र मित्रतापूर्ण सम्बन्धले मात्र महामारी नियन्त्रण हुन्छ । अब भाइरसलाई पराजित गरेर अर्थतन्त्र उकास्नतर्फ सबैजना लाग्नुपर्ने वेला भएको छ’, उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालले चीनबाट थप खोपको अपेक्षा गरेको बताउनुभयो । नेपालको अर्थतन्त्र पुनर्उत्थानका लागि चिनियाँ सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।
साथै, नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।
उक्त अनलाइन बैठकमै चिनियाँ चिकित्सकको टोलीले सहभागी नेपाली विज्ञहरुलाई हाइड्रोजन अक्सिजन जेनेरेटर चलाउने शैली सिकाउने भएका छन् । भाइरस संक्रमणबाट जोगाउन चीनमा व्यापक रुपमा प्रयोग गरिएको उक्त उपकरणले नेपालमा धेरैले ज्यान जोगाउने आशा उनीहरुले लिएका छन् ।
चीनले विकास गरेको यो अक्सिजन जेनेरेटर परम्परागत भन्दा भिन्न रहेको र यसको प्रभावकारिता पनि बढी रहेको चिनियाँ पक्षको दाबी छ ।
भर्चुअल बैठकमा यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने कुरा भए पनि उहाँहरु दुबै सहभागी हुनुभएन ।