काठमाडौं— नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु र चिनियाँ कम्युनिस्ट पार्टी(सिसिसी)बीच आज छलफल हुने भएको छ । छलफलमा सिसिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ सहभागी हुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जुममार्फत हुने छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलगायत सहभागी हुँदैछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने स्रोतले जनाएको छ । ओलीले आफ्नो तफएबाट महासचिव पोखरेललाई अघि सारेको बताइएको छ ।
बैठक नेपाली समयअनुसार १२ : ४५ बजेबाट सुरु हुनेछ ।
छलफलको मुख्य विषयवस्तु कोरोना भाइरस महामारी नियन्त्रण हुने चिनियाँ पक्षले जनाएको छ । साथै, नेपाल र चीनबीच आपसी सम्बन्धलगायतका विषयमा पनि कुराकानी हुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।