काठमाडौं । सर्वोच्च अदालतमा रिट दायरका लागि नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।
सर्वोच्च जानुअघि नेपाललगायतका नेता सिंहदरबारमा भेला भएका छन् । उनीहरु विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरका लागि जान लागेका हुन् ।
आफूहरुको समूहका ३० सांसदले रिट दायर गर्नका लागि हस्ताक्षर गरेको नेपाल समूहका एक नेताले दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् ।
विपक्षी दलका नेताहरु संसद् विघटनविरुद्ध रिट हाल्न केहीबेरपछि सर्वोच्च जाने कार्यक्रम छ ।
विपक्षी गठबन्धनमा कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह छन् ।