काठमाडौं - नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि ओली पुनः प्रधानमन्त्री बन्न सफल हुनुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।
बहुमत नपुग्ने भएपछि कांग्रेस–माओवादी गठबन्धनले सरकारका लागि दाबी नै नगरेको बताएको छ ।
त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले शुक्रबार (भोलि) पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
