काठमाडौं । नेकपा (एमाले)बाहेकका राजनीतिक दलले विश्वासको मत दिन नसक्ने स्पष्ट सन्देश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत पाउने सम्भावना ‘लगभग’ सकिएको छ ।
कांग्रेस संसदीय दलले शनिबार नै ओलीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । उसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले यसअघि नै स्थायी कमिटी बैठकबाटै विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
यसअघि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएको थियो । तर आज बालुवाटार नै पुगेर यो समूहले पनि ओलीलाई समर्थन गर्न नसकिने स्पष्ट सन्देश दिएको छ ।
नेताहरु ठाकुर र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेर यस्तो बताएका हुन् ।
सो समूहका नेताहरुले ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी फुट्ने निष्कर्ष निकाल्दै अहिले प्रस्तावको पक्षमा मतदान गर्न नसकिने जनाएको जसपानिकट स्रोतले जनाएको छ ।
नेता महतोका अनुसार सोमबार हुने मतदानमा जसपा तटस्थ बस्नेछ ।
एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरुले पनि आज साँझसम्म ओलीले माग पूरा नगरे संयुक्त राजीनामाको तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि संसद्मा तत्काल कायम रहेको संख्या २७१ को बहुमत पु¥याउनुपर्ने हुन्छ ।
त्यसका लागि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १३६ जना सांसद अनिवार्य हुनुपर्छ । अहिलेको अंगणित हेर्दा त्यो अवस्था ‘लगभग’ समाप्त भएको छ ।