काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन गरेको आग्रह नेपाली कांग्रेसले अस्वीकार गरेको छ। आज दिउँसो दलबलसहित देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग विश्वासको मत माग्नुभएको थियो।
तर अहिलेको अवस्थामा विश्वासको मत दिन नसकिने जवाफ दिएर प्रधानमन्त्रीसहित एमालेका शीर्ष नेताहरुलाई बूढानिलकण्ठबाट फर्काइएको छ । कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकपछि नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री ओलीले गरेको आग्रह आफूहरुले अस्वीकार गरेको जानकारी दिनुभयो ।
महतका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेकाले मिलेर जान प्रस्ताव गर्नुभएको थियो । तर कांग्रेस नेताहरूले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिएको भन्दै लोकतन्त्र संकटमा पार्ने काम ओली सरकारबाटै भएकोले अहिले एमालेसँग सत्तासाझेदारी हुनै नसक्ने जवाफ दिएका छन् । सहमहामन्त्री महतले ओलीलाई विश्वासको मतमा असफल पार्ने कांग्रेसको बटमलाइन रहेको बताउनुभयो । नयाँ सरकार गठनको कुरा भने वैशाख २७ को परिणामपछि मात्रै हुने उहाँको भनाई छ ।
आफ्नै पार्टीको माधव कुमार नेपाल समूहलाई मिलाएर लैजानुको साटो एमाले अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले विपक्षी दलहरुसँग गठबन्धनको प्रयास गरिरहनुभएको छ। यसअघि जनता समाजवादी पार्टीको एक समूहसँग एमालेको गोप्य सहमति भैसकेको भनिन्छ । तर आफूहरुलाई एक्ल्याएर अगाडि बढिरहने हो भने ओलीलाई पनि सँगसँगै डुबाउने उद्घोष माधव समूहले गरेको छ ।
माधव समूहमा रहेकी सांसद रामकुमारी झाँक्रीले किनारा खोज्न तयार नभए आफूसँगसँगै प्रधानमन्त्री ओलीलाई पनि डुबाइदिने उद्घोष सामाजिक सञ्जालमार्फत गर्नुभएको छ ।
झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गर्नुभएको हो । सांकेतिक रुपमा ट्वीट गर्दै झाँक्रीले आफूहरु डुबेर भए पनि ओलीलाई नछाड्ने उद्घोष गर्नुभएको हो ।
प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गर्दा माधव नेपाल समूहले फ्लोर क्रस, ह्वीप उल्लंघन देखि भोटिङ अगाडि नै सामूहिक राजीनामाको तयारी गरेको खबरहरु आइरहेका बेला त्यसलाई बल पुग्नेगरी झाँक्री बोल्नुभएको हो ।
नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’
माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले वार्ता सम्वाद नगरेमा, फागुन २८ को फिर्ता नलिएमा फ्लोर क्रसदेखि सामूहिक राजीनामासम्मको विकल्पमा जानुपर्ने अवस्था आउने बताइरहेका छन्।
यसअघि हिजो नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै माधव समूहका सांसद झपट रावलले सामूहिक राजीनामा दिएर ओलीलाई सत्ताच्यूत गर्ने तयारी भइरहेको खुलासा गर्नुभएको थियो ।
यसैबीच नेकपा माओवादी केन्द्रले ओली सरकारलाई आफ्नो समर्थन नरहेको पत्र संसद सचिवालयलाई पठाएको छ । योसँगै ओली सरकार अल्पमतमा परेको छ । वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । तर यो बीचमा विकसित राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नहुने अड्कलबाजी भइरहेको छ ।
विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचनमा देशलाई लैजाने चाहना पूरा हुने भएकाले प्रधानमन्त्री रत्तिभर पनि चिन्तामा नरहेको निकट नेताहरु बताइरहेका छन् । श्रोतका अनुसार मध्यावधि निर्वाचनमा जान ओली र कांग्रेस सभापति देउवाबिच चरण चरणमा छलफलहरु भएका छन् ।