काठमाडौँ । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच भिडन्त हुने भएको छ ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले एमाले निकट संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ ।
देवकोटा एमाले नेपाल निकट मानिनुहुन्छ तर उहाँले उपचुनाव भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नुहुने छ ।
देवकोटालाई माओवादीसहित नेपाली काँग्रेस र एमाले माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको समर्थन रहनेछ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।
पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।
२०७६ असारमा देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिनुहुन्छ ।