काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा आइतबार (आज) देखि काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु हुँदै छ ।
देशभरका एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहने साधारण सभाको बन्द सत्र भने चैत्र ३० गते सोही स्थानमा हुने भएको छ ।
महासंघका अनुसार साधारण सभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङबाट हुने छ ।
कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यो सहित अन्य समसामयीक विषयमा छलफल भई साधारण सभाको अन्त्यमा महासंघको काठमाडौं घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताउनुभयो ।
दाहालका अनुसार साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गरिने छ ।
सोही अवसरमा निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरूलाई सम्मानसमेत गरिने छ ।