काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेताहरु धुम्बाराही पुगेपछि वार्ता सुरु भएको हो ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार हुनुभएको थिएन । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि तय भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई छलफलका लागि बोलाउनुभएको हो ।

एमाले स्रोतका अनुसार विहान ११ बजेदेखि दुवै पक्षका नेताहरु वार्तामा बसेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायत नेता सहभागी छन् ।

त्यस्तै अर्को पक्षबाट नेता नेपालसहित भीम रावल, घनश्याम, भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेता सहभागी छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम भने उपस्थित छैनन् ।

नेपाल पक्षले आइतबारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो । त्यसैले, पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि आज पहिलो पटक औपचारिक छलफलमा बसेका हुन् ।
तस्बिरहरु : विष्णु रिजालको फेसबुक ।