काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहमा रहेका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने कसरतमा अब आफूहरु नलाग्ने घोषणा गरेका छन्।
हिजो नेकपामा रहँदा प्रचण्ड समूहसँग मिलेर ओली सरकार ढाल्न अनेकौँ प्रयास गरेका माधव नेपाल समूहका नेताहरुले एमाले ब्यूँतिएसँगै अब बाँकी रहेको दुई वर्ष ओली सरकारलाई नै निरन्तरता दिनुपर्ने पक्षमा आफूहरु रहेको घोषणा गरेका हुन्।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओली सरकारले बाँकी रहेको दुई वर्ष राम्रो ढंगले काम गर्नुपर्ने बताउनुभयो।
वर्तमान सरकारले बाँकी रहेको दुई वर्षको कार्यकाल पनि पूरा गर्नेुपर्ने आफ्नो चाहना रहेको नेता खनालले बताउनुभयो ।
तर वरिष्ठ नेता माधवकुमार नेपालले भने ओली सरकारको निरन्तरताबारे पत्रकारले सोधेको प्रश्नको सिधा जवाफ दिनुभएन । उहाँले यसबारे पार्टीमा आफूसँग कसैले छलफल नगरेको बताउनुभयो ।
छलफलका लागि आफू तयार रहेको बताउँदै नेपालले अहिलेसम्म कसैले छलफलमा नबोलाएको बताउनुभयो । संसद भवनबाट बाहिरिने क्रममा पत्रकारको जवाफ दिन उभिनुभएका नेता नेपालको आवाज निराश सुनिन्थ्यो ।
सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि नेकपाका नेताहरु आ–आफ्नो गुँडमा फर्किएका छन् । तर माओवादी केन्द्रका केही नेताहरु भने एमालेमै रहने निचोडमा पुगेका छन् ।
सर्वाेच्चको फैसलापछि एमालेमै फर्केको माधव नेपाल समूहलाई ओली पक्षले दिने हैसियतबारे चासो छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले केपी ओलीलाई चारपटक पार्टीबाट निकालेको घोषणा गर्ने अपराधीहरुको हर्कत बिर्सन नमिल्ने टिप्पणी सार्वजनिक गर्नुभएको छ । तर पत्रकारले सोधेको पश्नमा नेता सुवासचन्द्र नेम्वाङले माधव नेपाल समूहका नेताहरुलाई सम्मानजनक व्यवहार गरिने बताउनुभयो ।
नेम्वाङले सरकारको बहुमत नगुमेको बताउनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले विश्वासको मत जित्ने उहाँको दाबी छ ।
माओवादीले समर्थन फिर्ता लिए एमालेलाई ओली सरकार टिकाउन १८ सांसद आवश्यक पर्छन् । त्यसका लागि जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यको प्रस्ताव गरिएको छ । तर जसपाका नेता राजेन्द्र महताले ओलीलाई समर्थन जनाउन मात्रै आफूहरु नजन्मेको बताउनुभयो ।
पटक–पटक ढाँट्ने काम मात्रै गर्ने ओलीसँग आफ्ना मागहरु पूरा नभएसम्म सहकार्य नहुने उहाँले बताउनुभयो ।
तर जसपाका नेता उपेन्द्र यादवले आफूहरुका मुद्दा र मागहरु पूरा भए पनि नेकपा एमालेसँग सत्ता सहकार्य नहुने जिकिर गर्नुभयो ।
ओली सरकारसँग जसपाले सहकार्य गर्ने कुनै सम्भावना नहरको उहाँको भनाई छ । एमालेलाई आफूहरुले पटक–पटक परीक्षण गरिसकेको उहाँले बताउनुभयो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएर मधेशको एक घटकलाई आफ्नो पार्टीमा भित्राउन खोजेपछि मधेशी दलहरुले रातारात पार्टी एकता गरेर ओलीको चाहना भत्काएका थिए ।
तर अहिले फेरि सरकार टिकाउन प्रधानमन्त्री ओलीकै चाहनामा जसपा विभाजनको संघारमा पुगेको चर्चा राजनीतिक वृतमा छ ।
जसपाभित्रको एक समूह ओलीलाई सहयोग गरेर सत्तामा जाने मनसायमा छ भने पार्टीकै अर्काे समूहले एमालेसँग कुनै हालतमा सहकार्य गर्न नहुने अडान लिएको छ ।