पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिनुभएको छ।
प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दाबी गरिरहेकोतर्फ इंगित गर्दै उहाँले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिनुभएको हो । ‘विधिवत भेटौँ, बैठक बोलाइदिन्छु आउनुस् न’ उहाँले भन्नुभयो।
विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताउनुभयो । ‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं’ उहाँले भन्नुभयो ।
ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गर्नुभयो ।
उहाँले प्रचण्ड–माधव समूहसँग भएको बहुमत पनि आफूले दिएको दाबी गर्नुभयो। आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले बताउनुभयो ।
ओलीले प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला आफूले हटाइदिन पनि सक्ने दाबी गर्नुभयो । ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ, मैले अस्तिको दिनमा संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिएँ, मैले बनाएको हो मैले हटाइदिएँ, मैले गर्ने हो ।’