प्युठान । जिल्ला अस्पताल प्युठानमा पोष्टमार्टम गर्न ल्याइएको शव ३० घण्टा बितिसक्दा पनि पोष्टमार्टम भएको छैन । जिल्लाको ऐरावती गाउँपालिका –६ बिजुलीका २३ वर्षीय केशव परिवारले आइतबार आत्महत्या गरेको शव उनका आफन्तले सोमबार बिहान १० बजे अस्पतालमा ल्याइएको मृतकका बुवा कृष्ण परिवारले बताए ।
‘शव लिएर आएका १२ जना आफन्तसँग अहिले अस्पताल बसेर खाना खाने पैसा पनि छैन’, उनले भने, ‘शवको पोष्टमार्टम पनि नहँुदा पीडामाथि झनै पीडा थपिएको छ ।’
सोमबार मात्र झिकरुक गाउँपालिका –७ तुसारकी २६ वर्षीय अनिषा एमसी (थापा)ले दुई दिनअघि अप्रेसन गरि बच्चा सकुसल जन्माइएको थियो । तर, अहिले अनिषाको पेटमा रगत जमेपछि पुनस् अप्रेसन गर्दा अत्यधिक रक्त भएको हुँदा अस्पतालले रिफर दिएको थियो । रिफर गराइएकी अनिषाको प्युठानबाट बुटवल लैजाने क्रममा दाङको भालुवाङमा दुखद मृत्यु भएको बिषयलाई लिएर उनका आफन्तले सोमबार डाक्टरको लापरबाहीका कारण उनको ज्यान गएको भन्दै आन्दोलन गरेका थिए ।
आन्दोलनलाई शान्त पार्न र पीडितलाई न्याय दिलाउन सोही दिन दिउँसो जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, प्रदेश सांसद, प्युठान नगरपालिकका मेयर, नौबहिनी गाउँपालिकाका अध्यक्ष, अस्पताल व्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष केशवराज आचार्यसँग लागिपरेका थिए । पीडित परिवार, अस्पताल प्रशासन तथा चिकित्सकहरुबीचको वार्तापछि सहमति गरेर एलिषाको शव आफन्तले बुझेका थिए ।
सोही विषयलाई लिएर अस्पतालमा कार्यरत कर्मचारीहरुले आइतबार साँझ आफूहरुमाथि गलत आरोप लगाएको हुँदा एक बिज्ञप्ति जारी गर्दै फाल्गुन १७ गतेदेखि अनिश्चितकालका लागि आकस्मिक बाहेक सम्पूर्ण सेवा ठप्प गर्ने जानकारी दिएका थिए । सोहीकारण ३० घन्टा बित्दा पनि लास पोष्टमार्टम गरिएको छैन भने अन्य सेबाग्राही पनि उपचार नपाएर समस्यामा परेका छन् ।
तर, चिकित्सकसँग कुनै माफी माग्न नलगाएको र क्षतिपूति पनि अस्पताल व्यबस्थापनसँग नमागेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । चिकित्सकहरुले आन्तरिक समस्या देखाउँदै आफूखुसी सेवा ठप्प पार्न नहुने उनको भनाइ छ ।