काठमाडौं । देशभरीका ७५३ मध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय सरकारहरू निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार असार मसान्तसम्म बजेट ल्याउने स्थानीय तह ४० प्रतिशत भन्दा कम छन् ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४५२ वटा स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । जबकि १० असारभित्रै सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने थियो । पारित गरिसक्नुपर्ने असारमसान्तसम्म पनि उनीहरूले बजेट पेस गर्न नसकेको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी प्रदेश ५ मा ५६ प्रतिशत र गण्डकी प्रदेशका ५५ प्रतिशत स्थानीय तहले बजेट ल्याएका छन् । सबैभन्दा कम प्रदेश २ का २० प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरिसकेको छ ।
यसैबीच, गाउँपालिका महासंघले भने मन्त्रालयको तथ्यांक लगत भएको बताएको छ । मन्त्रालयको वेबसाइटमा अभिलेख राखेका पालिकाहरूको मात्रै मन्त्रालयले सूची सार्वजनिक गरेको गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।
बजेट ल्याउन ढिलाइ हुनुमा संघीय सरकार र प्रदेश सरकार पनि कारक रहेको उहाँको भनाइ छ । कतिपय पालिकामा भने दलहरूबीचको विवादले गर्दा पनि समयमा बजेट आउन नसकेको श्रेष्ठले बताउनुभयो ।