दार्चुलाको व्यास क्षेत्रको कालापानीसम्म स्थानीयलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म पनि अहिले भारतीय सुरक्षाकर्मीले जान दिएका छैनन् ।
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ ।
व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएको छ ।