काठमाडौँ । गायक अलिफ खानको ‘छुँदिन म जाले रुमाल’ बोलको गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ३ दिन अगाडि सार्वजनिक गरिएको उक्त गीत अहिले युट्युबको ट्रेन्डिङ १७ मा परेको छ ।
१० वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्ष गरे पनि उनलाई कसैले पत्याएको थिएन । उनै, अलिफ युट्युबको एक अन्तर्वार्ताका कारण एकाएक भाइरल भएका थिए।
उनको स्वरलाई दर्शकले अत्याधिक रुचाएका छन् । यो समाचार तयार पार्दा सम्म छुँदिन म जाले रुमाल बोलको उनको गीतमा ४ लाख १२ हजार भन्दा बढी भ्युज छ भने ३१ हजार लाइक रहेको छ।
डिभाइन म्युजिकको प्रस्तुती रहेको गीतमा खानको स्वरसहित अभिनय पनि छ । उनको अभिनयलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।
खानले आफू मुस्लिम भएकै कारण गायक बन्न गाह्रो भएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न युट्युव च्यानलहरुमा अन्तर्वार्ता दिएपछि उनको चर्चा चुलिएको थियो । त्यसपछि चर्चित संगीतकार अर्जुन पोखरेलले उनलाई मौका दिएका हुन्।
अर्जुन पोखरेलको संगीत रहेको छुँदिन म जाले रुमाल गीत साजन साहले मिक्सिंग गरेका हुन्।
ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक खानसहित इन्जमान अलि खान र श्रेया सिटौलाको अभिनय छ । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन्।