काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले तीन वर्षको कार्यकालमा प्रदेश सरकारले प्रभावकारी काम गरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो,“तीन वर्षमा संघीय सरकारभन्दा धेरै काम प्रदेश सरकारले गरेका छन्, सामाजिक रुपान्तरण प्रदेश २ सरकार सबैभन्दा अगाडी छ, समानान्तर विकासलाई जोड दिएर काम गरिरहेको प्रदेशले प्रभावकारी काम गरेको छ ।”
उहाँले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पुललगायतका पूर्वाधार विकासमा प्रदेश सरकारले योजनावद्ध तरिकाले काम गरिरहेको बताउनुभएको छ ।
संघीय सरकारले दिएको थोरै बजेटको सदुपयोग गर्दै विकासमा होमिएको दावी मुख्यमन्त्री राउतले गर्नुभयो ।
कर्मचारी असहयोगी हुँदा पनि प्रदेशको विकासमा बाधा पुगेको उहाँले जिकिर गर्नुभएको छ । भ्रष्टाचार संघीय सरकारमा रहेको उल्लेख गर्दै उहाँले प्रदेशमा भ्रष्टाचारको एउटा मात्रै घटना पुष्टि गर्न चेतावनी पनि दिनुभएको छ ।
कोरोना भाइरसविरुद्धको खोपबारे कुरा गर्दै मुख्यमन्त्री राउतले भ्याक्सिन एकदमै सुरक्षित रहेकाले सबैलाई लगाउन आग्रह पनि गर्नुभयो ।