काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
अनेरास्ववियूले आज दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिनुभयो ।
आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।