काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य गएराति १२ बजेदेखि लागू हुने छ ।
निगमले डिजेल, पेट्रोल, मट्टितेल, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु. दुईका दरले वृद्धि गरेको हो।
मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिका हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको छ। अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ ।
सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ।
मूल्य समायोजन पश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
