काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा राखेको धारणा इतिहासको नयाँ कुरा भएकाले यसमा आफुले कुनै टिप्पणी गर्न नसक्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डा. लोहनीले नेपाल र भारतबिचको धार्मिक र ऐतिहासिक सम्बन्ध विभिन्न प्रमाणहरुका आधारमा बनेकाले प्रधानमन्त्रीले के तथ्य र प्रमाणका आधारमा बताउँनु भएको हो यसलमा इतिहासविद् र पुरातत्वविद्हरु यसमा बोल्नुपर्ने बताउनुभयो ।
पार्टीको आन्तरिक कलहबाट जोगिनका लागि ओलीले भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिहरु दिइरहेको र त्यही रणनीति अन्तर्गत नै अयोध्याको विषयमा बोलेको हुनसक्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यो इतिहासको नयाँ कुरा भयो । उहाँले प्रमाण नदेखाइकन कुनै पनि टिप्पणी गर्नु उपयुक्त हुदैँन । यस विषयमा पुरात्वविद्हरुले भन्नुपर्छ ।’
लोहनीले अहिलेको सरकार र त्यसमा पनि प्रधानमन्त्रीको परराष्ट्रनीति भारतलाई गाली गर्ने मात्र भएको बताउनुभयो । प्रधानमन्त्री जस्तो व्यक्ति यो हदका गालीगलौजमा उत्रदा राम्रो नहुने र प्रमाणका आधारमा मात्रै कुरा गर्नुपर्ने डा लोहनीको भनाई छ ।
अहिलेको डुवान समस्या भारतको हेपाहा प्रबृत्तिले नै भएको भन्दै उहाँले बरु डुवानका विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डुवानका बारेमा प्रधानमन्त्रीले भारतसँग कुरा नगर्ने तर, नानाथरिका आरोप मात्रै लगाउने गरेकाले नेपालको परराष्ट्रनीति धरमरमा परेको छ ।”
लोहनीलेसीमा अतिक्रमण र बाँधका कुरा अन्तर्राष्ट्रिय कानून विपरित भएपनि यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसकेको टिप्पणी गर्नुभयो । “भारतलाई गाली गरेर चीनका राजदूतको सक्रियता बढाउँदा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो । हिजो भारतीय राजदूतले सक्रियता बढाउँदा हस्तक्षेप भन्ने र आज चीनले गर्दा गलत नभन्ने प्रबृत्ति राम्रो हैन्,” डा लोहनीले भन्नुभयो ।