काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको छ । उनलाई पक्राउ गर्ने तयारीस्वरुप प्रहरीले निगरानीमा राखेको स्रोतको दाबी छ ।
नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाएको छ । तर, हालसम्म पनि उनी उपस्थित भएकी छैनन् । अब प्रहरलिे पक्राउको तयारी गरेको बुझिएको छ ।
झाक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीलाई अमर्यादित गाली गरेको आरोप लागेको छ । ओली समूहकोे अखिल नेपाल महिला संघ (अनेमसंघ)ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्र हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।
झाक्रीलाई पक्राउ गर्न सरकारले पनि प्रहरीलाई चर्को दबाब दिँदै आएको बताइएको छ । राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।
के भनेकी थिइन् झाक्रीले ?
गत साता गोरखामा आयोजित प्रचण्ड–माधव समूहको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीको आलोचना गरेकी थिइन् । उनले राष्ट्रपति भण्डारीलाई बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा गएर बस्न सुझाब दिएका थिइन् ।
‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ’, उनले भनेकी थिइन्, ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धलाई लिएर यसअघि पनि प्रचण्ड–माधव समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसदसमेत रहेकी झाँक्री काठमाडौँमा भएको बुधबारको बिरोधसभामा प्रतिगमन मुर्दावाद लेखेको कालो लुगा र मुखमा कालै टेप लगाएर स्टेजमा चढिन् । कालो लुगा दर्शकतिर फालेर मुखमा लगाएको कालो टेप खोल्दै उनले फेरि राष्ट्रपतिविरुद्ध बोलिन् ।
‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा महिलाको अस्मिता मिचिदैन बरु भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ’, मुखमा टेप लगाएर स्टेजमा गएकी उनले भनेकी थिइन्, ‘राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन ।’
राष्ट्रपति सम्मनित संस्था भए पनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको उनको भनाइ छ ।