काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहको विरोधसभा यतिवेला भृकुटीमण्डपमा जारी छ । विरोधसभाअघि विभिन्न ठाउँमा विरोध जुलुस निस्किएको थियो । यसैबीच, एउटा जुलुसमा भारतको राष्ट्रिय झण्डा देखिएको छ ।
जुलुसमा भारतीय झण्डा देखिएको भन्दै धेरैले त्यसलाई सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । ‘अन्तराष्ट्रिय सहयोग प्राप्त गर्न सफल भएकोमा प्रचण्ड–माधव समूहलाई बधाइ’, ट्विटरमा मनिषा पोखरेल लेख्छिन् । मंगलबार मात्र प्रचण्ड–माधव समूहले आफ्नो आन्दोलनलाई सहयोग गर्न अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई आग्रह गरेका थिए । मनिषाको ट्विट यसैमा लक्षित छ ।

यद्यपि, कतिपयले भने यसलाई प्रधानमन्त्री केपी शर्मा ओली समूहको ‘साइबर सेना’ले अफवाह फैलाएको दाबी गरिहेका छन् । आन्दोलनलाई बद्नाम गर्न जुलुसको तस्बिरमा फोटो सप गरेर भारतको झण्डा राखेको बताएका छन् । उनीहरुले त्यसको प्रमाणसमेत पेश गरिहेका छन् ।

फोटो सप गरिएको दाबी गर्दै ट्विटरमा पासा लेख्छन्, ‘भारतको झण्डा हालेर फोटोसप गर्न भ्याइसकेका रैछन् ।’

प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियुकी नेतृ पञ्चा सिंहले पनि जुलुसको फोटो इडिट गरेर भारतको झण्डा राखिएको बताएकी छिन् । विशाल जनप्रदर्शनबाट आतिएर ओली समूहको साइबर सेनाले नै यस्तो काम गरेको उनको दाबी छ ।
‘विशाल जनप्रर्दशनबाट अत्तालिएर जुलुसमा कम्प्युटर इडिट गरी भारतीय झण्डा राखेर कुप्रचार गरिरहेका छन् । निन्दनीय हर्कतको निन्दा गर्दै प्रतिवाद गर्न अपिल गर्दछौँ’, साइबर स्यालको साइबर क्राइम शीर्षकमा उनले फेसबुकमा प्रमाण पेश गर्दै लेखेकी छिन्, ‘आजको मुल ब्यानर र जुलुस हेर्नुहोस । फरक आफैँ छुट्याउनुहोस् ।’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरीले सम्बोधन गरिसकेका छन् । अब स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने कार्यक्रम छ । यो समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहड्ताल आयोजना गरिसकेको छ ।