काठमाडौं । चार÷पाँच महिनाको अवधिमै एक्कासी बृद्धि भएको फलामे डन्डीको मूल्य अहिले घट्न थालेको छ ।
प्रतिकिलो मै ३० रुपैँयासम्म बढेको डन्डीको मूल्य सरकार तथा आमसंचार माध्यमको निरन्तर दबावपछि घट्न थालेको हो । केही उद्योगी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्यो भन्दै प्रतिकिलोमा चार रुपैँया मूल्य घटाउन थालेका छन् ।
बजारमा फलामे छडको मूल्य बृद्धि भएपछि गत पुसबाट नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यको विषयमा उद्योगीसँग छलफल गर्ने र मूल्य बढ्नुको कारणसहित विवरण पेश गर्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक सागर मिश्रले निरन्तर दबावपछि फलामे छडको मूल्य केहि हदसम्म घटेको बताउनुभयो ।
अहिले फलामे डन्डी प्रतिकिलो ८८ बाट घटेर ७७ मा बिक्रि भइरहेको विभागले जनाएको छ ।