काठमाडौँ – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ।
सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौ केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय पार्टीले गरेको हो ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो ।
दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए।
तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गर्यो । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दियो।
त्यसपछि २५ प्रतिशत केन्द्रीय सदस्यको मागअनुसार बैठक बसेको र ४४१ को दुई तिहाइ सहभागी भएको प्रचण्ड माधव समूहको दाबी छ। बैठकले त्यसको लिखित जवाफसहित आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
उनले भने, ‘कहिले जाने भन्ने निर्वाचन आयोगको जिम्मा दिइएका साथीहरुले निर्णय गर्नुहुन्छ ।’
केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो।
गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो।