काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहको केन्द्रीय कमिटिको बैठक आज बस्न लागेको छ ।
बैठक विहान ११ बजेपछि कार्की ब्याङ्क्वेट, बबरमहल काठमाडौमा बस्ने तय भएको नेताहरुले जानकारी दिएका छन् । प्रतिनिधि सभा विघटनका विरुद्धमा पार्टीले जारी राखेको आन्दोलनको समिक्षा गर्दै भावी रणनीति बनाउन बैठक बोलाइएको नेताहरुको भनाई छ ।
आजै नेकपाको दाहाल नेपाल समूहका विद्यार्थीहरुले पनि प्रतिनिधि सभा विघटनका विरुद्धमा प्रदर्शनको तयारी गरेका छन् । अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार देशभरका स्थानिय तहको सरकारलाई ज्ञापनपत्र बुझाउदै प्रदर्शन गर्ने भएका हुन् ।
त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा भक्तपुरले मोर्चाका केन्द्रीय संयोजक सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सदीय प्रतिक्रियावादी व्यवस्था खारेज र संघीय जनगणतन्त्र स्थापनाको लागि कार्टुन प्रदर्शन गर्ने भएको छ ।
यता, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने आजै इन्जिनियरहरुको भेला आयोजना गरेको छ । प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालले केन्द्रीय कमिटीले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् इन्जिनियर भेला गर्न लागेको हो ।
भेला राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा दिउँसो ३ बजेपछि हुने तय भएको छ । त्यसैगरी नेकपा (ओलि समूह) वागमती प्रदेश कमिटीले यही माघ २३ गते हुने बृहत जनसभाको बिषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।