काठमाडौँ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निरंकुश राजतन्त्रमा समेत घुँडा नटेककिएको बताउँदै अहिलेको अवस्थामा त झन घुँडा टेक्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।
उहाँले नेपालको स्वाभिमान माथि उठाउन र विकासका सबालमा आफूले घुँडा नटेक्ने बताउनुभयो । केही दिनदेखि नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले निरंकुश ओलीलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आउनुभएको थियो ।
आज धनगढीमा आयोजित आफ्नो समूहको विरोधसभामा पनि प्रचण्डले सर्र्वाेच्चमा मुद्दा परेको हुन्थेन भने अहिलेसम्म केपी ओलीलाई संसद बैठक बसेर कारबाही गरिसकिएको हुने दाबी गर्नुभयो । सर्वाेच्चमा मुद्दा नपरेका अवस्थामा संसद बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको प्रचण्डले बताउनुभयो ।
यसअघि हिजो विराटनगरमा आयोजित विरोधसभामा पनि प्रचण्डले यस्तै अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डले लगातार आफूलाई कारबाही गर्ने बताउन थालेपछि प्रधानमन्त्री ओलीले आज चितवनको सभामार्फत जवाफ फर्काउनुभएको हो ।
सम्बोधनका क्रममा ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गरिरहने दाबी गर्नुभयो । निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही हुँदा घुँडानटेको बताउँदै ओलीले अहिले त झन त्यस्तो कुनै अवस्था नै नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफू सत्तामा आएपछि नेपालमा विकासको लहर छाएको र नेपालीको राष्ट्रवादले थप उचाई लिएको बताउनुभयो । निरंकुश राजतन्त्रका अगाडि घुँडा नटेकेर लडेको बताए पनि प्रचण्डले भने ओलीलाई सामन्तीहरुका दलालको संज्ञा दिनुभयो । उहाँले कम्युनिष्ट पार्टीमा छिरेका दलालपुँजीपतिका एजेन्टहरुलाई तीनमहिना भित्रै परास्त गर्ने चेतावनी दिनुभयो ।
प्रचण्डले आफूसँग जनयुद्धमा सँगै होमिएका नेता लेखराज भट्टलाई पनि महादलालको संज्ञा दिनुभयो । आफैले हुर्काएको र राष्ट्रिय राजनीतिमा स्थान दिएको व्यक्ति अहिले ओलीको वरिपरी घुमेर महादलाल भएकोमा आफूलाई विचित्र लागेको प्रचण्डले बताउनुभयो ।
प्रचण्डले धनगढी पुगेर सोही क्षेत्रबाट निर्वाचित नेता तथा उद्योगमन्त्री लेखराज भट्टलाई केपी ओलीको दलाल भनेपछि सामाजिक सञ्जालमा पूर्व माओवादी कार्यकर्ताले प्रचण्डलाई लेखराजले मोटरसाइकलमा राखेर कतै लगिरहेको फोटो सार्वजनिक गर्दै टीकाटिप्पणी गरेका छन् ।
भट्टले प्रचण्डलाई बोकेको र बन्दूक बोकेको फोटो सार्वजनिक गर्दै ‘जनयुद्धकालमा आफूलाई पाल्ने’ सहयोद्धाको अपमान गरेको भन्दै फोटो भाइरल बनाइएको छ ।
जनयुद्धकालमा प्रचण्डका परिवारको विलासी जीवनका लागि लेखराजले व्यक्तिगत रूपमा ठूलो लगानी गरेको टिप्पणी उनीहरुले गरेका छन् ।
लेखराज भट्टले जनयुद्धमा प्रचण्ड परिवारलाई पाल्न आफ्नो धेरै सम्पत्ति सिध्याएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ ।
लामो समयका राजनीतिक सहयात्री प्रचण्डलाई छाडेर भट्ट अहिले ओली समूहमा लाग्नुभएको छ ।