काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणका आन्दोलनको कार्यक्रम अनुसार आज पनि धर्ना जारी राख्ने भएको छ ।
माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्य सहित बिहान ११ बजेदेखि धर्नामा बस्ने दाहाल–नेपाल समूहले जनाएको छ ।
यस्तै, दाहाल–नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
यता, नेकपा ओली समुह सुर्यविनायक नगरपालिका–७ नम्बर वडा कमिटीले वडा स्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ । भक्तपुरको गुण्डु स्वास्थ चौकीको सभाहलमा बिहान साढे ७ बजे भेला आयोजना गरिएको थियो ।
भक्तपुरमै ओली समुहको सुर्यविनायक नगरपालिका–४ नम्बर वडा कमिटीले वडा स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने जनाएको छ । हिञ्चोक भैरव मन्दिर, भक्तपुरमा दिउँसो २ बजे कार्यकर्ता भेला हुदैं छ ।
आजै ओली समुहको काठमाडौ महानगर कमिटीले कार्यकर्ता भेला तथा सपथ ग्रहण कार्यक्रम गर्ने भएको छ । दिउँसो १ बजे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमूख आतिथ्यतामा राष्ट्रिय सभागृहमा कार्यकर्ता भेला तथा सपथ ग्रहण कार्यक्रम हुने भएको हो ।
ओली समुहकै अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चले बृहत् संयुक्त भेला आयोजना गर्दै छ । नेकपाका स्थायी समिति सदस्य तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा बागबजारस्थित हार्दिक होटलमा दिउँसो १ बजे भेला हुने भएको छ ।
यसैबिच, जनता समाजवादी पार्टी नेवाः राष्ट्रिय समितिको आयोजनामा प्रतिनिधिसभा विघटनको विरुद्ध जनप्रदर्शन हुने भएको छ । ललितपुरको पुल्चोकमा दिउँसो साढे १ बजे जनप्रदर्शन गरिने बताइएको छ ।
आजै बृहत् नागरिक आन्दोलनले प्रतिगमन विरुद्ध विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रराज वृक्ष, टेकुमा बृहत् नागरिक आन्दोलनले दिउँसो २ बजे कार्यक्रम आयोजना गर्न लागेको हो ।