Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना खोप: कसले लगाउने? कसले नलगाउने?

कोरोना खोप: कसले लगाउने? कसले नलगाउने?

  • मंगलवार, माघ १३ २०७७

  • 2.0K
    SHARES

  • कोरोना खोप: कसले लगाउने? कसले नलगाउने?

    काठमाडौँ – नेपालमा कोरोनाविरुद्धको खोप अभियान भोलिदेखि सुरु हुँदै छ । भोलि बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश सुनाएपछि प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा बालुवाटारबाट एकैपटक तीनवटा अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नुहुने छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुबाट खोप अभियानको शुभारम्भ गरिनेछ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप आफूले लगाउने घोषणा गर्नुभएको छ । यस्तै दोस्रोमा कोभिड चिकित्सक डा.अनुप बाँस्तोलाले खोप लिने सूची तय भएको छ ।

    निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । खोपबारे सकारात्मक सन्देश प्रवाह गर्न आफूबाट नै सुरुवात गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    पहिलो चरणमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका ४ लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ । १८ वर्ष उमेर पुगेका व्यक्तिले यो खोप लगाउन मिल्ने चिकित्सकहरुले बताएका छन् ।

    १८ वर्ष भन्दा कम उमेरका व्यक्तिमा खोपको परीक्षण नभएकाले उनीहरुले लगाउन नमिल्ने स्वास्थ्य थथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    उहाँले यसबाहेक गर्भवती, स्तन पान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका महिला तथा एलर्जीको समस्या भएका व्यक्तिलृ खोप लगाउन नमिल्ने डा. गौतमले बताउनुभयो । तर मुटुको रोग तथा स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्ने उहाँले बताउनुभयो ।

    यो खोप लगाइसकेपछि स्वास्थ्यमा त्यस्तो कुनै गम्भीर असर नपर्ने चिकित्सकहरुले बताएका छन् । हालसम्म विश्वका अरु मुलुकमा पनि यसबाट नकारात्मक प्रभाव परेको रेकर्ड नरेहको उनीहरुको दाबी छ ।

    तर खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता समस्या देखिने सक्ने डाक्टर गौतमले बताउनुभयो । उहाँले यस्तो समस्या देखिए तत्काल उपचारको व्यवस्था गरिएकाले आत्तिन नपर्ने बताउनुभयो ।

    विश्वमा कोरोनाविरुद्धको खोप छिटो प्राप्त गर्ने मुलुकको सूचीमा नेपाल अग्रपंक्तिमा रहेको सरकारको दाबी छ । यो खोपको प्रभावकारिता राम्रो रहेकोले ढुक्क भएर लगाउन आग्रह गरिएको छ । तर खोप लगाइसकेपछि स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरको भय भने सर्वसाधारणमा कायमै छ ।

     


    मंगलवार, माघ १३ २०७७०७:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij