काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदर्शनका कारण काठमाडौंमा चल्ने सवारी–साधन अस्तव्यस्त बनेको छ ।
नेकपाले आज काठमाडौंका ९ स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि सवारी अस्तव्यस्त बनेको हो । जसका कारण नागरिकलाई समेत सास्ती भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ ।
प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी–साधनलाई सभागृहमोड र पद्यमोदयबाट आउने–जाने व्यवस्था मिलाइएको छ । रणोद्धीपबाट भोटाहिटीतर्फ आउने–जाने सवारी–साधनलाई डाइभर्सन, भोटाहिटीबाट जमल हुँदै घन्टाघरतर्फ आउने सवारी–साधनलाई तीनधारा पाठशाला हुँदै महेन्द्र सालिकतर्फ पठाइएको छ ।
आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएको छ । त्यसैले सो सडकखण्डमा गाडी चलेका छैनन् ।
दाहाल–नेपाल समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ ।
माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ ।
विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नुहुने छ ।