काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओमा आजसम्म मात्रै आवेदन दिने सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
माघ २ गतेबाट बिक्री खुला गरेको कम्पानीको आईपीओ मागभन्दा दुई गुणा बढी आवेदन परिसकेकोले आवेदन दिने समय नबढाइने बिक्री प्रबन्धक एनआईबीएलस एस क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओ हिजो ९सोमबार० साँझसम्म ११ लाख ८७ हजार ९ सय ५५ जनाले १४ करोड २८ लाख १४ हजार ४ सय ७० कित्ताका लागि १४ अर्ब २८ करोड १४ लाख ४७ हजार रुपैयाँ आवेदन परेको एनआईबीएल एस क्यापिटलले जनाएको छ । जुन कुल आवेदन माग गरेको भन्दा झन्डै दोब्बर हो ।
कम्पनीको माघ २ गतेबाट ८ अर्ब रुपैयाँ आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम दुई करोड कित्तासम्म आवेदन दिन सकिन्छ ।
बैंकले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘बीबीबी’को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ‘ट्रिपल बी’को इस्युअर रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आईपीओमा गरेको लगानी मध्यम जोखिम जनाउँछ । इक्राले कम्पनीहरुलाई आठ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा ‘एएए’ सबैभन्दा उत्तम रेटिङ हो भने ‘डी’ सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो राम्रो हो ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्रीपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो । बैंकले गत आर्थिक वर्षमा ८४ करोड र यो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोडभन्दा माथि खुद मुनाफा आर्जन गरेको छ ।