काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर आज पनि भर्न सकिने भएको छ ।
हिजोदेखि सर्वसाधारणका लागि खुलेको सेयर भर्नका लागि कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म डिम्याट सेवासम्बन्धी कार्य गर्ने जनाएको छ ।
आज हितग्राही खाता खोल्न र नवीकरण गर्न मेरो सेयर दर्ता र नवीकरण गर्न सकिने कम्पनीले जनाएको छ । इतिहासकै सर्वाधिक ठूलो राशीको आईपीओ हिजोबाट निष्काशन खुला भएको छ ।
पूर्वाधार विकासमा पीपीपी मोडलमा अघि सारिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन आरम्भ भएको हो ।
कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने १,६०,००० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४०,००,००० कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।
बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्व साधारणका लागि आवेदन खुला गरिएको हो । बैंकको आइपीओ छिटोमा माघ ६ गते र ढिलोमा १६ गते बन्द हुने छ ।