काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेहरुमाथि कारवाही गरिने बताउनुभएको छ । ओली पक्षीय अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको जानकारी दिनुभयो ।
‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु’, उहाँले अनेमसङ्घका प्रतिनिधिहरुसँग भन्नुभयो ।
प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै संघले गृहमन्त्री समक्ष आज ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदमविरुद्ध भन्दै अहिले आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नारावाजी हुने गरेको छ ।